काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।उनका अनुसार ०७९ असार ७ मा गठित रास्वपाले उक्त दिन केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको बुर्लाकोटीले बताए । ‘पार्टीलाई सुझाव दिने वर्गलाई अलि बढी यसपटक समेट्दैछौँ । पार्टीमा आबद्ध नभएर बाहिरबाट सल्लाह सुझाव दिनेहरूलाई बढीभन्दा बढी आमन्त्रण गर्नेछौँ,’ उनले भने ।पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले सञ्चारमाध्यमका सम्पादकहरूलाई छुट्टै आमन्त्रण गर्ने उनको भनाइ छ । सम्पादकका लागि असार ७ गते बिहान राखिने छुट्टै चियापानसहितको कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले पनि सहभागी हुने बुर्लाकोटीले बताए ।यस्तै प्रदेश, जिल्ला, पालिका, वडा कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाउन केन्द्रले परिपत्र गरेको छ । १ असार देखि ४ गतेसम्म हालसालै निर्माण सम्पन्न र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाहरूको अनुगमन गर्ने कार्यक्रम बनाइएको छ । ५ असारमा रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरूको सरसफाइ, ६ गते वृक्षारोपण कार्यक्रम राखिएको छ ।रक्तदान, सरसफाइ, वृक्षारोपण, मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, निजी क्षेत्र, क्लब, सङ्घसंस्था समुदायसँग समेत सहकार्य गर्न केन्द्रले परिपत्र गरेको छ ।
