काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आइतबार राति भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हासिल गर्यो । न्यु योर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियममा खेलिएको त्यो खेलमा भारतले कम स्कोर बनाएर पनि नतिजालाई आफ्नो पक्षमा पार्यो ।टस हारी पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा अलआउट हुनुअघि केवल एक सय १९ रन बनाउन सक्यो । भारतले कम योगफल बनाएपछि धेरैले पाकिस्तानको जित निश्चित रहेको अनुमान गरेका थिए ।तर, पाकिस्तानी टोलीले पनि निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १३ रनमात्र बनाउन सक्यो । अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै चासोका साथ हेरिन्छ । यी दुई चिर प्रतिद्वन्द्वीबिच खेल हुँदा समर्थकहरू निकै ठुलो रकम खर्चिएर टिकट खरिद गर्छन् ।यी दुई राष्ट्रबिच लामो समयदेखि चल्दै आएको राजनीति कटुताको प्रभाव पनि खेलका क्रममा समर्थकहरूबिच देखिन्छ । आफ्नो टोली पराजित हुँदा आक्रोशित बनेका समर्थकले प्रत्यक्ष प्रसारण हेरिरहेको टेलिभिजनमाथि समेत आफ्नो रिस पोख्ने गरेका छन् । त्यसैले भारत र पाकिस्तानबिच खेल हुँदा टेलिभिजन सेट फुटाइएको समाचारहरू पनि बाहिरिन्छन् । यसै क्रममा आइतबार राति भारत र पाकिस्तानबिचको खेलपछि दिल्ली पुलिसले आफ्नो एक्स (ट्विटर) मा एउटा रमाइलो पोस्ट गरेको छ ।दिल्ली पुलिसले गरेको त्यो पोस्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । खासमा दिल्ली पुलिसले न्यु योर्क सिटी पुलिसलाई ट्याग गर्दै आफ्नो पोस्टमा लेखेको छ, ‘हामीले त दुई वटा चर्को आवाज सुन्यौँ । एउटा भारत..भारत भनेको र अर्को सायद, टेलिभिजनको सिसा फुटाइएको । के तपाईँहरू यसको पुष्टि गर्न सक्नुहुन्छ ?’दिल्ली पुलिसको यो पोस्ट सार्वजनिक भएपछि भारतीय समर्थकहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । धेरैले यो पोस्टलाई निकै रुचाएका पनि छन् ।
