काठमाडौँ । घोडाघोडी नगरपालिका वडा नम्बर १० का साढे चार वर्षका रोहित बोगटी साढे चार बजे पछि घरमा भेटिँदैनन् । पछिल्लो तीन महिना देखी उनी करिब डेढ घण्टा स्थानीय कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल सिकिरहेका हुन्छन् ।मिडफिल्डबाट बल फरवार्ड तर्फ निकाल्दै गरेका साना बालक बोगटी निकै फुर्तिला छन् । पछिल्लो समय बिहानीपख स्थानीय कमल बम मेमोरियल बेडिङ स्कुलमा अक्षर सिकिरहेका उनी साँझपख भने खेलमैदानमा फुटबल सिकिरहेका भेटिन्छन् । साढे पाँच वर्षका मोहन बोहराको दैनिकी पनि यो भन्दा फरक छैन । बोगटी मिडफिल्डरका रुपमा आफूलाई निखारी रहँदा बोहरा भने उत्कृष्ट गोलरक्षक बन्न चाहन्छन् । करिब ५ महिना पहिले ३० जनाबाट फुटबल प्रशिक्षण सुरु गरेको सहारा युवा क्लवले अहिले दैनिक १४४ जनालाई प्रशिक्षण दिइरहेको छ । यहाँ ५ समूहमा फुटबल सिक्नेहरू छन् । समूह ए मा ५ वर्ष मुनिका , बि मा १२ बर्ष मुनिका, सी मा १४ वर्ष मुनिका डी मा महिला र ई मा १४ वर्ष भन्दा माथिका उमेर समूहले फुटबल सिकिरहेका छन् ।५ बर्ष भन्दा कम उमेरका ३० जना,१२ भन्दा कमका ३५ जना,१४ वर्ष भन्दा कम उमेरका २८ जना, महिला ११ र १४ वर्ष भन्दा माथिका ४० जनाले दैनिक फुटबल प्रशिक्षण गरिरहेको सहारा युवा क्लबका सचिव छत्र बुढाले जानकारी दिए ।

उनी साना उमेरकाहरु अझै फुटबलको क्रेज बढि देखिएको र सम्भावना पनि राम्रो रहेको बताउँछन् । ‘५ वर्ष भन्दा कम उमेरका साना बाबुहरूले निकै राम्रो सिकिरहेका छन्’ उनी भन्छन् ‘यही ढंगले सिक्दै जाने हो भने चाँडै देशले राम्रा खेलाडीहरू पाउने छ ।’यहाँ सिक्दै गरेका केही खेलाडीहरू जिल्ला स्तरीय लिग पनि खेल्न पाइसकेका छन् । उनीहरु त्यहाँ खेलेका मात्रै छैनन् राम्रो प्रदर्शन गरेर टिमलाई जिताएका पनि छन् । घोडाघोडी क्लबबाट जिल्ला स्तरीय ए डिभिजन लिग खेलेका मनोज चौधरीले निकै राम्रो खेल प्रदर्शन गरे । उनी संलग्न टिम उप विजेता बन्यो । मङ्गलपुर युवा क्लब गौरीगङ्गाबाट जिल्ला स्तरीय बि डिभिजन लिग खेलेका रोशम चौधरी र प्रकाश सुनारले आफ्नो टिमलाई विजेता बनाउन भूमिका खेले । यहाँ फुटबल सिकिरहेका महिला खेलाडीहरूमा पनि निकै ठुलो सम्भावना रहेको देखिन्छ । आफ्नो अध्ययन र घरको काम सकेर फुटबल सिक्दै गरेका महिला खेलाडीहरू आफूहरूले खेलकुदको नामबाट हाम्रो देशको नाम राख्ने लक्ष्य लिएको बताउँछन् । सुरुबाटै डिफेन्स लाइनमा आफूलाई अब्बल बनाउने गरि फुटबल सिक्दै गरेकी काजल कठरियाको एउटा मात्रै सपना छ, देशको लागि खेल्ने । ‘हामी महिलाहरूले पनि केही गर्न सक्छौँ । देशको नाम राख्छ सक्छौँ भन्ने लाग्छ ’ उनले भनिन् ‘राष्ट्रिय जर्सी लगाए देशलाई जिताउने गरि खेल्ने ठूलो लक्ष्य छ। ’
सानै उमेरमा राम्रो क्षमता प्रदर्शन गरिरहेका काजल जस्ता ११ महिला खेलाडीबाट चाँडै राष्ट्रले राम्रो खेलाडी पाउने प्रशिक्षक प्रदीप बमको विश्वास छ । ‘यहाँ सबै उमेरका खेलाडीहरूमा राम्रो सम्भावना देखेको छु । उनीहरुले अझै राम्रो प्रशिक्षण पाउन सके राम्रो खेलाडी उत्पादन हुन समय लाग्दैन ’ उनले भने । नियमित खेलकुद प्रशिक्षण हुँदा खेलकुदमा राम्रो सम्भावना देख्नेहरू बढेको र लागूपदार्थ दुव्यर्सनीमा पनि कमी आएको क्लबका अध्यक्ष निर्मल मिश्र बताउँछन् । ‘उहाँ लागूपदार्थका कारण युवाहरू निकै ठुलो समस्यामा थिए । हामीले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने र लागूपदार्थ दुर्व्यसनी निमिट्यान्न पार्ने उद्देश्यमा लागेका छौँ ’ अध्यक्ष मिश्रले भने ‘अहिले सम्म हामीले राम्रो उपलब्धी हासिल गरेका छौँ । यही मैदानबाट नयाँ राष्ट्रिय खेलाडी उत्पादन हुन्छ भन्नेमा विश्वस्त छौँ ।’पाँच महिनौँ खेलाडीहरूको संख्या बढ्दा व्यवस्थापन गर्न भने क्लबलाई संकट गरेको छ । राम्रो खेलाडी उत्पादन गर्ने उद्देश्यमा लागेका क्लबमा पदाधिकारीहरू अहिलेसम्म तीनै तहको सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्छन् ।अहिले केही निजी विद्यालय,सहयोगी सङ्घ संस्था र सदस्यता शुल्कबाट प्रशिक्षण चलिरहेका छ । तर, यसरी धेरै दिन धान्न समस्या हुन सक्ने उनीहरुको बुझाइ छ ।विगत पाँच महिना देखी प्रशिक्षक बमले कुनै शुल्क लिएका छैनन् । ८ वर्ष नेपाली सेना र ४ बर्ष दुबई पुलिसमा काम गरेर उनी आफ्नै भूमिमा खेलाडी जन्माउन फर्किएको बताउँछन् ।लामो समय आफू पनि फुटबल खेलमा रहेको तर, उचित प्रशिक्षण र अवसर नहुँदा आफू खेलकुदमा अगाडी बढ्न नसके भन्दै अब त्यस्तो अवस्था आउन नदिन खेलाडी उत्पादनमा जोड दिएको उनी बताउँछन् ।‘हामीले प्रशिक्षण र अवसर दुबै पाएनौँ । त्यही कारणले पनि फुटबल छोड्नु प¥यो । अब त्यस्तो अवस्था आउन दिन हुँदैन ’ उनी भन्छन् ‘अहिले राम्रो खेल्न सक्दा राम्रो सम्भावना र अवसर छ । हामी राम्रो खेलाडी जन्माउने प्रयासमा छौ ।’