धनगढी । सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा रहेका राष्ट्रिय गौरवसहितका ठुला तथा बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको छ । सरकारले सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर यस प्रदेशमा रहेका ठुला एवं बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको सङ्घीय बजेट प्रस्तुत गर्नुभएको थियो ।
सङ्घीय सरकारले कैलालीमा रहेको राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि दुई अर्ब ८७ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यस आयोजनाको प्रथम चरणको १४ हजार तीन सय हेक्टर शाखा नहर सञ्चालन गरी सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको योजना छ ।
यसै गरी लम्की मूल नहर अन्तर्गतको शाखा नहर निर्माण सुरु गर्ने मन्त्री पुनले बजेट भाषणमा घोषणा गर्नुभएको छ । कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर र त्रिभुवन बस्ती शाखा विस्तारको कार्यलाई अगाडि बढाउने सरकारको योजना छ । ब्रह्मदेव क्षेत्रको शाखाबाट एक हजार छ सय हेक्टर जमिनमा सिँचाइ सेवा थप गरिने जनाइएको छ । यस आयोजनाका लागि सरकारले दुई अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । त्यस्तै गोदावरी नगरपालिकास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने सरकारको घोषणा छ । लामो समयदेखि मोडालिटीमै अल्झिएको यो विश्वविद्यालयमा गत वर्षबाट अस्पताल भने सञ्चालनमा रहेको छ ।
यसै गरी धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने मन्त्री पुनले घोषणा गरे। नेपाल सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित यहाँ खेलग्राम बनाउने यसअघि नै निर्णय गरेको थियो । त्यसका लागि चालु आवभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने कार्य अगाडि बढेको छ । सरकारले कञ्चनपुरमा दैजी छेला उद्योग निर्माणको काम अगाडि बढाउने, महाकाली कोरिडोर र सेती लोकमार्गको स्तरोन्नति गर्ने, डडेलधुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको छ । आगामी आवको बजेटमा यस प्रदेशका लागि सङ्घीय सरकारले पुराना, बहुवर्षीय आयोजनालाई प्राथमिकता दिएको देखिएको छ ।
नयाँ कार्यक्रमका रूपमा कञ्चनपुरको चाँदनी दोधारामा नयाँ बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशका आयोजनाका लागि छुट्याएको बजेट आशा गरेभन्दा थोरै रहेको निजी क्षेत्रको ठहर छ । विगतमा बजेट आउँदा कार्यान्वयन हुन नसकेको भन्दै यस पटक धेरै जसो आयोजनाका लागि बजेटै नरहेको नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले बताए । गोरखापत्रबाट