काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो पहिलो खेल बिहीबार आयोजक राष्ट्र अमेरिकासँग खेल्दैछ । खेल राति २१ः१५ बजे सुरु हुनेछ । त्यो खेलअघि पाकिस्तानी टोलीका एक खेलाडी घाइते भएका छन् ।घाइते भएका कारण अमेरिकाविरुद्धको खेलमा पाकिस्तानी टोलीका अलराउन्डर इमाद वसिम उपस्थित हुने छैनन् । इमादको चोटले पाकिस्तानी टोली थप दबाबमा परेको छ । पछिल्लो समय पाकिस्तानी टोलीको प्रदर्शन पनि खासै गतिलो छैन ।विश्वकप सुरु हुनुअघि पाकिस्तानले इङ्ल्यान्डसँग टी–२० शृंखला खेलेको थियो । त्यो शृङ्खलामा पाकिस्तानको प्रदर्शन अत्यन्तै निराशाजनक थियो । त्यसमाथि आफ्नो पहिलो खेलअघि अलराउन्डर इमाद वसिम घाइते भएपछि पाकिस्तानी टोली थप दबाबमा परेको छ ।इमाद वसिम घाइते भएपछि कप्तान बाबर आजम पनि चिन्तित देखिएका छन् । ‘अन्तिम क्षणमा आएर इमाद घाइते हुनु टोलीका लागि दुर्भाग्य हो । अब उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुबाहेक अर्को विकल्प छैन,’ कप्तान बाबर आजमले भनेका छन् ।इमाद वसिम विश्वकप खेल्न सन्न्यास फिर्ता लिएर पाकिस्तानी टोलीमा फर्किएका हुन् । इमादसँगै तीव्र गतिका बलर मोहम्मद आमिरले पनि विश्वकप खेल्न आफ्नो सन्न्यास फिर्ता लिएका थिए ।सन्न्यास फिर्ता लिएलगत्तै इमादलाई न्युजिल्यान्ड, आयरल्यान्ड र इङ्ल्यान्डविरुद्धको टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएको थियो ।
