डडेलधुरा । समैजी विमानस्थल निर्माणका लागि यस पटक पनि बजेट नछुट्याएकोप्रति स्थानीयले गुनासो पोखेका छन् । यसअघि तीन पटक प्रारम्भिक अध्ययन गरेर पनि बजेट नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । उक्त विमानस्थल निर्माण गर्न चार अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको छ । अजयमेरु गाउँपालिका–१, पुइलेकमा विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणको अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) थालिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा विमानस्थल छैन भन्ने आवाज उठेपछि २०७९ सालको चुनावी सभामा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले विमानस्थल निर्माण गर्ने बताउनुभएको थियो । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा समैजी विमानस्थल निर्माणको विषय नै उल्लेख गरिएको छैन । प्रारम्भिक अध्ययनले विमानस्थल निर्माण हुने अपेक्षा राखेको बजेटमा रकम नपर्दा यहाँका स्थानीय आक्रोशित बनेका छन् ।राजनीतिक दाउपेचका कारण यो विमानस्थल निर्माणका लागि बजेट नपरेको आरोप प्रदेश सभा सदस्य डा। तारा जोशीले लगाउनुभयो । विमानस्थल निर्माणका लागि परियोजना विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । सो क्षेत्रमा एक हजार पाँच सयदेखि एक हजार सात सय मिटर लम्बाइको धावनमार्ग बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । दनेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ सालमा पाँच करोड रुपियाँ विनियोजन गरेको थियो । उहाँका अनुसार विमानस्थल निर्माणका लागि अग्लो भूभाग धेरै कटान गर्नुपर्ने देखिएको छ । विमानस्थलको चौडाइ भने १५० मिटरको हुने अध्ययनले देखाएको छ ।
