काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्।बिहीबार काठमाडौँमा जनसाँस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए।उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उल्लेख गरे।उनले समाजवादको निम्ति एकता आवश्यक रहेको पनि बताए। उनले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको उल्लेख गरे।उनले कृषिलाई आधार बनाएर र आईटीलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ्नसक्ने बताए। समाजवादको सोच र रुपान्तरणको अभियान साँस्कृतिक रुपान्तरणको अभियान भएको उनको भनाइ थियो।उनले भने,’राष्ट्रको निम्ति, वर्ग र जनताको निम्ति फेरि पनि एउटा नयाँ आन्दोलनको तयारीका रुपमा हामी अघि बढिरहेका छौँ। अहिले हेर्नुभयो भने सरकारको तर्फबाट पनि खालि सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा गरिएको छैन, भर्खरै अघि सारिएको नीति कार्यक्रमलाई गहिरो गरी हेर्नुभयो भने वा अस्तिमात्रै प्रस्तुत भएको बजेटलाई राम्रोसँग हेर्नुभयो भने समाजवादका भ्रुणहरु, समाजवादको बीउ रोप्ने प्रयास गरिएको छ।’
