काठमाडौँ । २०७५ फागुन २४ गते ११ बुँदे सम्झौता गरी मूलधारमा आउनुभन्दा दुई दिन अगाडि सीके राउतले आफ्नो फेसबुकमा मधेसवासीलाई सम्बोधन गर्दै ‘स्वराज निर्विकल्प रहेको’ सन्देश दिएका थिए ।तर एकाएक उनले उक्त एजेण्डालाई छाडेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गरे । राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौताको पहिलो बुँदामा लेखिएको छ–‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।’

राजनीतिमा उनले लिएका तीन वटा घुम्तीका यी उदाहरण मात्र हुन् । नेपालबाट मधेसलाई अलग गराइ स्वतन्त्र राज्यको दर्जा दिलाउने भन्दै सुरुमा उनले आन्दोलन थाले । सोही क्रममा उनले दस्तावेज निर्माण गर्नुका साथै अलग देशको माग गर्दै राष्ट्रसङ्घलाई समेत गुहारेका थिए ।
उनले आफ्नै फौज निर्माणदेखि लिएर कथित देश चलाउनका लागि आवश्यक कर्मचारीका लागि विज्ञापन समेत आह्वान गरिसकेका थिए ।
सीके राउतले स्वतन्त्र मधेसको बारेमा आफ्नो आत्मकथामा लेखेका छन्– ‘स्वतन्त्रता कहिल्यै पनि ढिलो हुँदैन । र, गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए । यस दशकमा पनि पूर्वी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे । र मधेसीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेसलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ । त्यसै गरी केहीले स्वतन्त्र मधेस निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन् । क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका सयभन्दा बढी देशहरूभन्दा ठुलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिंगापुर र माल्दिभ्स् जस्ता चर्चित देशहरूभन्दा ठुलो । माल्दिभ्स् त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ । जनसङ्ख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका करिब एक सय पचास देशहरूभन्दा ठुलो हुनेछन् ग्रीस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्वीट्जरल्याण्ट, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठुलो । सबै दृष्टिले, मधेस विशाल छ, मधेस महान छ ।’
वैरागीदेखि वैज्ञानिकसम्म
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केहीसमय काम गरेका सीके राउत आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर जापान हिँडेका थिए । जापान सरकारले दिने गरेको मोनबुसो छात्रवृत्तिमा उनी अध्ययनका लागि जापान गएका थिए ।
जापानबाट फर्केपछि के गर्ने भन्नेबारे उनीसँग कुनै योजना थिएन । अलमलमा परेर उनी वैरागी (जोगी) बनेर हिँड्न थालेका थिए । भगवान खोज्नका लागि आफू भारतको रामेश्वरम, बेङ्गलोर, कलकत्ता, मद्रास, कन्याकुमारीसम्म पुगेको तथ्य उनले आत्मकथामा लेखेका थिए । त्यही क्रममा आफूले ब्रह्मज्ञान प्राप्त गरेको उनले आत्मकथामा उल्लेख गरेका छन् ।
त्यो ब्रह्मज्ञानबाट पनि केही प्राप्त हुने नदेखेपछि उनी पुनः जापान फर्किए । जापानबाट मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिभर्सिटीमा विद्यावारिधिका लागि उनले आवेदन दिएका थिए र त्यसमा उनी छनोट पनि भए ।
उनी २०६४ मा नेपाल फर्किंदा मधेस आन्दोलन सुरु भइसकेको थियो । र, पहिलो पटक उनले तत्कालीन मधेसी मेर्चाद्वारा टुँडिखेलमा आयोजना गरेको जनसभामा आफ्नो मन्तव्य दिएर छुट्टै परिचय स्थापित गरेका थिए ।
तर मधेस आन्दोलनबाट केही प्राप्त हुने भन्दै सीके राउतले ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ गठन गरेर मधेसमा गतिविधि सुरु गरेका थिए । त्यतिबेला उनको मूल नारा थियो– ‘नेपाली उपनिवेश र रङ्गभेद अन्त्य, मधेसीको समुचित अधिकार र मधेसको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना ।’
आन्दोलनकै क्रममा उनी २०६५ सालमा वैज्ञानिकका रुपमा कार्य गर्न अमेरिका पुगे । यद्यपि उनले त्यहाँ पनि मधेसको गतिविधि गर्न छाडेका थिएनन् । अमेरिकामा गठन गरेको गैरआवासीय मधेसी सङ्घको ब्यानरमा उनले अमेरिकाबाट नेपाल आएर मेची–महाकाली यात्रा चलाएका थिए ।
उनले सो यात्राको बारेमा आफ्नो आत्मकथामा लेखेका छन्–‘पहाडीहरू मानवताविरुद्धको अपराधमा, रङ्गभेद र भेदभाव गर्नमा र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र सङ्गठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरेँ ।’ त्यही यात्राको क्रममा उनले नेपालबाट मधेसलाई अलग बनाउने सोच बनाए । मधेसीमाथि भएको विभेदबारे उनले खुलेर बोल्न थाले ।
सीके राउतले नेपालमा स्वतन्त्र मधेस गठबन्धनका लागि काम गर्न थालेपछि युरोपियन युनियन तथा अमेरिका फण्डबाट सञ्चालित विभिन्न सङ्घसंस्थाले उनलाई सहयोग गर्न थालेका थिए । अमेरिकामा बसेका मधेसीहरूले पनि पैसा पठाउन थाले ।
के थियो योजना ?
२०६७ देखि स्वतन्त्र मधेसको गतिविधिलाई तीव्रता दिएका सीके राउतले ८ देखि १२ वर्षमा मधेसलाई स्वतन्त्र बनाउने योजना बनाएका थिए । तर नौ वर्ष नपुग्दै उनी त्यो अभियानलाई छाडेर मूलधारको राजनीतिका आए ।
तर, उनका पार्टीका केन्द्रीय तहका नेताहरू भन्छन्, ‘हामी अझै आफ्नै योजना मुताविक छौँ ।’ सीके राउतले तोकेको समयसीमा अझै ३ वर्ष बाँकी छ ।
उनका कार्यकर्ताका अनुसार सीके राउत अहिले बचाउको चरणमा छन् । तीन चरणको योजना अनुसार दुई चरण पार भइसकेको छ । जसरी पनि मधेस गठबन्धन र उसको मिसनलाई बचाउने योजना सीके राउतको थियो र सोही योजना मुताविक उनी अहिले सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिमा आएका छन् । जनमत पार्टी निर्माण गरेर जनतामा खुला रुपमा जाने र जनताको मत बटुल्ने, सङ्गठन अझै बलियो बनाउँदै गएर स्वतन्त्र मधेस घोषणा गर्ने योजना राउतको थियो । उनले आफ्नो मधेस स्वराज पुस्तकमा यो रणनीतिक योजना उल्लेख गरेका छन् ।
पहिलो चरणको तयारीमा प्रचार प्रसार गर्ने, युवा दस्ता बनाउनेदेखि सैन्य र प्रहरी संरचना बनाउनेसम्मका कुरा छन् । दोस्रो चरणको आन्दोलनमा नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका योजना उल्लेख छ । र तेस्रो चरणमा बचाउका लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्रसङ्घमा दर्तासम्मका कुरा उल्लेख छन् । अहिले सीके राउत तेस्रो चरणमा रहेको कतिपयले दाबी गरेका छन् ।
सीके राउतले साङ्गठनिक रुपले सक्षम भएपछि असहयोगको आन्दोलन सुरु गर्ने, अहिंसात्मक विद्रोह र नाकाबन्दीको सहयोगमा मधेसमा नेपाली साम्राज्यको अन्त्य गर्दै स्वराजको स्थापनाका लागि लाग्ने आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
सीके राउत पहिलो पटक २०७१ सालमा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि त्यतिबेला कांग्रेस नेतृत्वको सरकार थियो । तत्कालीन सञ्चारमन्त्री मिनेन्द्र रिजालसँग दुई बुँदे सम्झौता गरी उनी रिहा भएका थिए ।
त्यसपछि उनी पटकपटक पक्राउ पर्ने र रिहा हुने काम भयो । जतिपटक उनी पक्राउ पर्थे, त्यति नै उनको सङ्गठन बलियो हुँदै गइरहेको थियो । कतिपयले त राष्ट्र विखण्डनमा राउत लागेको सबै प्रमाण हुँदाहुँदै सरकारले रिहा गरेको भन्दै आपत्ति जनाएका थिए । जेलबाट रिहा भएको भोलिपल्टै राज्यसँग ११ बुँदे सम्झौता गर्दैै राउत मूलधारको राजनीतिमा आए ।
गठबन्धनका तत्कालीन सचिव चन्दन सिंह भन्छन्, ‘हामीले सरकारसँग गरेको ११ बुँदे सम्झौता अक्षरशः पालना हुन्छ । जनताको हितमा हामी काम गर्छौं ।’
गणतन्त्रको यात्रा
मूलधारको राजनीतिमा आएपछि सीके राउतले मधेसको जित भएको भन्दै मधेसमा दीपावली गराए । उनले स्वतन्त्र मधेसका नारा, स्वतन्त्र मधेसका अन्य सबै गतिविधि छाडिसकेका थिए । तर उनले बेलाबेला स्वराजका लागि आफ्नो आन्दोलन जारी रहेको भन्ने गरेका थिए ।
पछिल्लो समय उनले स्वराजको नामसमेत लिन छाडिसकेका छन् । सङ्घीयता र गणतन्त्रलाई कसरी बलियो बनाउने, मधेसलाई कसरी मुक्ति दिने, मधेसको गरिबी, बेरोजगारी समस्या कसरी समाधान गर्ने, किसानका मुद्दा तथा भ्रष्टाचारका समस्या उठाएर बेलाबेलामा उनले आन्दोलन समेत गरे ।
२०७९ को चुनावमा भाग लिनुअघि जनमत पार्टीले आन्दोलनलाई तीव्रता दिएको थियो । आन्दोलनकै क्रममा उनको पार्टीले तीनवटै तहको चुनावमा भाग लियो । प्रतिनिधि सभा चुनावमा सीके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे । राउत सप्तरी–२ बाट निर्वाचित भए । त्यसपछि उनको क्रेज अझै बढ्यो ।
उपेन्द्र यादवजस्तो व्यक्तिलाई चुनावमा पराजित गरेपछि काठमाडौँमा उनको डिमाण्ड बढ्यो । चुनाव जितेर आएपछि राजधानीमा विभिन्न पार्टीका शीर्ष नेताहरूलाई घरघर गएर उनले भेटेका थिए । यहाँसम्म कि उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र तत्कालीन राजपाका अध्यक्ष महन्थ ठाकुरालई समेत भेटेका थिए ।
सरकारमा आफ्नो पार्टीलाई पठाउन आतुर थिए सीके राउत । त्यही बेला २०७९ मा एमाले–माओवादी गठबन्धनको सरकार बन्न लाग्दा सबभन्दा पहिले एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । सरकारमा जाने सबभन्दा पहिले सम्झौता उनैले गरेका थिए । तर सम्झौता अनुसार मन्त्री नपाएपछि सुरुदेखि नै उनी असन्तुष्ट रहे । सोही क्रममा कहिले मन्त्री फिर्ता बोलाउने, कहिले पठाउने काम गरे ।
२०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले सत्ता गठबन्धनमा रहेकै अवस्थामा आफ्नो छुट्टै उम्मेदवार उठाउने निर्णय गरे । उनले उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये एउटा पद आफ्नो पार्टीलाई दिनुपर्ने अडान लिएका थिए ।
तर तीमध्ये कुनै पनि पद नपाएपछि गठबन्धनको विरुद्धमा उनले उपराष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवार खडा गरे । सभामुखमा पनि सत्ता गठबन्धनको विपरीत मतदान गरे । उनले बारा–२ मा भएको उपचुनावमा उपेन्द्र यादवको विरुद्ध उम्मेदवार उठाए ।
सरकार र उनीबिच द्वन्द्व बढ्दै गएपछि उनले सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाएका थिए । यद्यपि चुनावपछि उनले फेरि सरकारमा मन्त्री पठाए । सरकारसँग सीके राउतको सम्बन्ध कहिल्यै राम्रो भएन । संसददेखि सरकारसम्म सीके राउतले विरोध नै गर्थे, जसले गर्दा सरकारले अप्ठ्यारो मानिरहेको थियो । पछि उनले सरकारबाट मन्त्री फिर्ता लिनुको साथै समर्थन पनि फिर्ता लिए र अहिलेको गणतन्त्र तथा राज्य प्रणालीमाथि नै प्रश्न उठाए ।
‘अब यो गणतन्त्रको काम छैन । नौलो गणतन्त्र ल्याउनुपर्छ’ भन्दै सीके राउतले प्रतिवेदन तयार गरी पार्टीबाट पारितसमेत गराए । नौलो गणतन्त्रका लागि आन्दोलन घोषणा गर्न जेठ १५ गते राजधानीमा कार्यक्रम गरे ।
राजनीतिक विश्लेषक जयनिशान्तले जनमत पार्टीका अध्यक्ष राउतले नौलो गणतन्त्रको कुरा सिद्धान्ततः ठिक गरेको बताए । उनले भने, ‘जनताले अधिकभन्दा अधिक अधिकार पाउन् भन्ने उद्देश्यले यो नौलो गणतन्त्रको कुरा उहाँले ल्याउनुभएको हो । हरेक कार्यकारी पद चुनावमार्फत हुनुपर्छ भन्ने छ, त्यो राम्रो सोच हो ।’
जनमत पार्टीका अध्यक्ष राउतले अहिलेको गणतन्त्रलाई छाडेको नभएर यसैलाई परिस्कृत गरी राम्रो बनाउन चाहेको विश्लेषक जयनिशान्तको भनाइ छ ।
जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले अहिलेको गणतन्त्र विकृत भइसकेको बताए । जनता यसबाट सन्तुष्ट नभएकाले यसलाई परिस्कृत गर्न नौलो गणतन्त्रको कुरा ल्याएको उनको भनाइ छ ।
सबै प्रमुख पद जनताबाट चुनिएर आएपछि उनीहरू जनताप्रति उत्तरदायी हुने बताउँदै उनले देशमा बढ्दै गएको भ्रष्टाचार तथा अनियमिततालाई रोक्नका लागि नौलो गणतन्त्र चाहिने बताए ।