काठमाडौँ। सर्वोच्च अदालतमा चलिरहेको ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा हाललाई ब्रेक लागेको छ। संवैधानिक इजलासमा आइतबारदेखि नियमित सुनुवाइ भइरहे पनि बुधवारदेखि उक्त प्रक्रिया स्थगित भएको हो।

सुनुवाइ रोकिनुकाे कारण भने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अमेरिका भ्रमण हो। सर्वोच्च अदालत प्रशासनका अनुसार प्रधानन्यायाधीश राउत बुधवार बेलुका ७ः४० को उडानमार्फत अमेरिका प्रस्थान गर्दै छन्। यद्यपि उनको भ्रमणको उद्देश्य र कार्यतालिका भने अझै सार्वजनिक भएको छैन। प्रधानन्यायाधीशको सचिवालयले कार्यतालिका बेलुकासम्म सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
राउतको सक्रियतामा आइतबारदेखि संवैधानिक इजलासमा दैनिक सुनुवाइ हुँदै आएको थियो। यसअघि हप्तामा दुई दिन मात्र — बुधवार र शुक्रबार — संवैधानिक इजलास बस्दै आएको थियो। बुधवार आठौँ दिनको सुनुवाइ भएको हो।
प्रधानन्यायाधीश राउतसहित संवैधानिक इजलासमा न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेका छन्। मंगलबारसम्म निवेदक र सरकारी वकिलको बहस सकिएको छ भने अब ५२ जना पदाधिकारीहरूको तर्फबाट कानुन व्यवसायीहरूको बहस सुरु भइसकेको छ। उक्त बहसपछि निवेदकहरूका तर्फबाट जवाफी बहस सुरु हुनेछ।
२०७७ माघ र २०७८ असारमा विभिन्न आयोगहरूमा गरिएको नियुक्तिविरुद्ध परेका १५ वटा रिटमाथि २०८१ माघ ३० गतेदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। माघ ३० यता हालसम्म चारपटक सुनुवाइ भएको थियो भने गत आइतबारदेखि नियमित सुनुवाइको क्रम प्रारम्भ गरिएको थियो।