कैलाली‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ असार ७ गते आयोजना हुने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने पाँचौ संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ असार ७ गते हुने घोषणा गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पाँचौ संस्करणको अवार्डको मिति घोषणा गरिएको हो ।पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।पाँचौ एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन सम्बन्धी सुदुरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक बीच सम्झौता भएको छ । अन्य सह प्रायोजकहरुको खोजी सुरु गरिने आयोजकले जनाएको छ ।
