काठमाडौं । भारतको दिल्लीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । भारतीय सत्तारुढ दल भाजपाकी नेतृ रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री बन्दैछिन् । उनले आज शपथ लिनेछिन् । रेखासँगै अन्य ६ जानले पनि आज शपथ लिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको हो । यस्तै प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन् । प्रवेश वर्माले नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका राष्ट्रिय संयोजक तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए।
भाजपाले रविशंकर प्रसाद र ओम प्रकाश धनखरलाई पर्यवेक्षक बनाएको थियो । दुवै जनाले विधायक दलको बैठकअघि भाजपाका सबै विधायकसँग एकएक गरी कुरा गरेका थिए ।
यसपछि दलको बैठकमा सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखा गुप्ताको नाम प्रस्ताव गरेपछि मुख्यमन्त्रीको नाम घोषणा गरियो । मुख्यमन्त्रीको शपथ ग्रहण बिहीबार रामलीला मैदानमा हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दिल्लीका मुख्य सचिवले पठाएको निमन्त्रणामा मुख्यमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ हुने उल्लेख छ । हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो । दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिटमा खुम्चियो ।