काठमाडौं : काठमाडौंको कीर्तिपुरमा दुई पक्षबीच झडपको क्रममा खुकुरी प्रहार भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार झडपको क्रममा खुकुरी प्रहार गर्ने समूहका ९ जनालाई पक्राउ गरेको बताइएको छ।
पक्राउ पर्नेमा २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर विष्ट, २० वर्षीय उपेन्द्र सिंह, २० वर्षीय सुदीप गिरी, २३ वर्षीय नवीन भनिने नृप भण्डारी, २७ वर्षीय जयन्त धानुक, २० वर्षीय तेज थापा, २२ वर्षीय तपेन्द्रराज खाती र २१ वर्षीय सुनिल रोकाया छन्।घटना बुधबार राति ७ बज कीर्तिपुर नगरपालिका वडा नम्बर १० नयाँ बजारमा भएको थियो। प्रहरीका अनुसार तपेन्द्रराज खाती र धनेश्वर खड्काबीच पुरानो चिनजान थियो।
उनीहरू दुबै जना कैलालीकै हुन्। उनीहरूबीचको खटपटका कारण दुई समूहले झगडा गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको हो। पुरानो रिसिइबीका कारण झडप भएको प्रहरीले जनाएको छ। घटनाको दिन खातीको पक्षबाट चार वटा मोटरसाइकलमा कीर्तिपुर पुगेका थिए। यता धनेश्वर पनि आफ्ना साथीहरूसँग झगडा गर्न त्यहाँ पुगेका थिए। खातीले केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई समेत बोलाएका थिए। झगडा गर्न उनीहरूले खुकुरी समेत बोकेको प्रहरीले जनाएको छ। धनेश्वरको पक्षबाट गएका कीर्तिपुर(१० बस्ने २४ वर्षीय साजिस श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो।
साजिसको बायाँ हातमा गम्भीर चोट लागेको छ। घाइते बनाएर खातीको समूह चार वटा मोटरसाइकलमा चढेर फरार भएका थिए। यता धनेश्वर लगायतले साजिसलाई कीर्तिपुर अस्पताल पुर्याएको प्रहरीले जनाएको छ।यसरी घटनापछि फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरको संयुक्त टोली खटिएको थियो।साजिसमाथि सुदीप गिरीले खुकुरी प्रहार गरेको एसपी अधिकारीले बताए। उनी र सुनिल रोकाया यसअघि पनि खुकुरी प्रहार घटनामा पक्राउ परिसकेका व्यक्ति रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि ज्यान मार्ने उद्योग कसुरमा ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको छ।