काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेत्री एवम् परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा बुधबार एउटै फ्लाइटमा धनगढी पुगेका छन्।

कांग्रेस-माओवादीको गठबन्धन टुटेपछि संभवत: पहिलो पटक उनीहरू यसरी निकट भएका हुन्। प्रचण्ड र आरजु देउवा एउटै फ्लाइटबाट धनगढी पुगेपछि धनगढी बिमानस्थलमा पत्रकारले प्रचण्डसँग सक्षिप्त प्रतिक्रिया लिँदा उनले हेलाे-हाई मात्र भएकाे बताएका छन्। पत्रकारको ‘सँगै आउनुभयाे केही राजनीतिक गफ भयाे कि?’ भन्ने जिज्ञासामा उनले हेलाे-हाई मात्र भएकाे प्रतिक्रिया दिएका थिए।
प्रचण्डसहित माओवादीका पदाधिकारी माओवादीको प्रदेश स्तरीय कार्यक्रमका लागि धनगढी पुगेका हुन्। यसैगरी, आरजु गौरादेवीको पूजा बिसर्जन गर्न आज धनगढीस्थित निवासमा पुगेकी हुन्। २ दिनको कार्यक्रम तालिकासहित उनी धनगढीमा रहनेछन्।यतिबेला यहाँको सुरक्षा ब्यवस्था कडा पारिएकाे छ। आलोपालो सरकार चलाउने कुरामा ‘खटपट’ भएपछि माओवादीसँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरी आरजु परराष्ट्र मन्त्री भएकी हुन्।