जिनियस बिज लाईफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण साह (कानु) ले रुपन्देहीमा पहिलोपटक यो कार्यक्रम गर्न लागिएको बताए । उनका अनुसार कार्यक्रम दुई सत्रमा सञ्चालन हुनेछ । ‘पहिलो सत्रमा यस वर्षको माध्यमिक शिक्षा परिषद् (एसईई) परीक्षा दिने हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुनेछन् भने दोस्रो सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहनेछ, ’उनले भने । पहिलो सत्र बिहान ७ः४५ बजेदेखि र दोस्रो सत्र बिहान ११ः३० देखि सुरु हुने उनले जानकारी दिए ।

भैरहवास्थित सिद्धार्थ भिलासामा हुने कार्यक्रमको पहिलो सत्र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र दोस्रो सत्र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा हुने उनले जानकारी दिए ।
सेमिनारमा प्रशिक्षक तथा कलाकार सन्दिप क्षेत्रीले ग्रो ह्याप्पीली विषयमा र एआई प्रशिक्षक आलोक खत्रीले एआई फर नेक्सट् जेनेरेसन विषयमा प्रशिक्षण दिने साहले बताए । ‘कार्यक्रममा करिब १ हजार ५ सय जना विद्यार्थीहरुको सहभागीता रहने उनले बताए ।
‘सेमिनारमा प्रवेश शुल्कवापत रु. ३ सय राखिएको छ, सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेका छौं, यो कार्यक्रम गैरनाफामूलक हो । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र उपलब्ध गराइनेछ । समाज रुपान्तरणका लागि विद्यार्थीहरुलाई उत्प्रेरित गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो, ’उनले भने ।
कृष्ण साहले यसअघि रुपन्देहीमा १ सय बढी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
पत्रकार सम्मेलनमा कलाकार तथा प्रशिक्षक सन्दिप क्षेत्रीले कार्यक्रममा आउन पाउँदा आफू निकै उत्साहित भएको बताए ।
लिडरसीप स्कील्स डेभलपमेन्ट टे«निङ्ग (एलएसडीटी) का प्रशिक्षक विजय पाण्डेले सन्दिप क्षेत्री र आलोक खत्री रुपन्देहीमा आउन सबैका लागि गर्वको कुरा भएको बताए ।