काठमाडौं । जनतालाई सहज र सरल रुपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हुन्छ । जनताबाट उठाएको करले नै सरकार चल्छ । त्यसैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ नै । अशक्त र अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने ? यस्तो अव्यवस्थित, फोहोर सरकारी कार्यालयहरु भइदिँदा दिनप्रतिदिन आम नागरिकहरुले सरकारी सेवा लिनबाट वञ्चित हुनुपरेको छ । सरकारी कार्यालय भनेपछि यसै त कुनैपनि काम गर्नको लागि दिनभरको माया मारेर जानुपर्छ, त्यसमाथि व्यवस्थित र सफा भएन भने सेवाग्राही जनताको अवस्था कस्तो होला ? यो आम मानिसको प्रश्न हो ? यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौंकै सरकारी कार्यालयहरुको हरिबिजोग छ ।

सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन् । सिंहदरवार अगाडि राखिएको तोपको कुनै महत्व नै छैन । लाग्छ सरकारबाटै सरकारी सम्पती तिरस्कृत छन् । घाँस उम्रिएर छेक्दासमेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन् । यस्तै संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरु आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृति सम्पदा, ऐतिहासिक महत्व बोकेका धरोहरका विषयवस्तुहरुको लापरबाही गरेर बस्छ ।
राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहोर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जिर्ण साइन बोर्ड, यातयात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड जताततै सरकारी सम्पतीहरुको दुरुपयोग र हेलचेक्र्याँइ छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सरकारी सम्पतीमाथि नेतृत्वको हेलचेक्र्याँइ र दुरुपयोग सम्बन्धी यी तस्बिर ।