काठमाडौँ – राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठदेखि कनिष्ठसम्मका पत्रकार प्रभावशालीहरुको मिडिया सहयोगीका रुपमा काम गर्न तँछाडमछाड गरेका छन्।

समाचार शाखामा काम गर्ने सम्पादकदेखि स्ट्रिन्जरसम्मका झण्डै आधा कर्मचारी राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सहयोगीका रुपमा जाँदा राससको समाचार उत्पादनमै असर परेको छ।
समाचार शाखामा रहेका १५ मध्ये ६ जना पत्रकार तलबभत्ता राससबाटै खाने गरी सहयोगी बन्न गएका हुन्। एमाले र कांग्रेसको सरकार बनेसँगै आफ्नो कार्यालयको जिम्मेवारी छाडेर प्रभावशालीको अघिपछि गर्न जानेको संख्या थप बढेको हो। जसमध्ये तीन जनाले मात्रै व्यवस्थापनसँग औपचारिक रुपमा स्वीकृति लिएको स्रोतले बतायो।
समाचार सम्पादकको जिम्मेवारीमा रहेका १०औँ तहका एकराज पाठक परराष्ट्रमन्त्री आरजु राणाको मिडिया सहयोगीका रुपमा काम गरिरहेका छन्। अघिल्लो पटक प्रकाशरण महत परराष्ट्रमन्त्री हुँदा पनि उनी गएका थिए।
१०औँ तहका अर्का पत्रकार सूर्यचन्द्र बस्नेत दुई वर्षदेखि राससबाटै तलबभत्ता खाने गरी राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा काम गरिरहेका छन्।
१०औँ तहका पाठक र बस्नेत अन्यत्रै हिँडेपछि नवौँ तहका नारायण न्यौपानेलाई निमित्त प्रमुख समाचारदाताको जिम्मेवारी दिइएको छ। पदमा भएको व्यक्तिले आफ्नो काम नगर्ने तर अरु जिम्मेवारीमा रहेको व्यक्तिलाई निमित्त प्रमुख समाचारदाताको जिम्मेवारी दिइएको हो।
आठौँ तहका प्रकाश सिलवाल प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पुगेका छन्। ओलीको नेतृतवमा सरकार बनेसँगै सिलवाल मिडिया सहयोगीका रुपमा हर्ताकर्ता बनेका हुन्।
त्यस्तै, छैटौँ तहका शेरबहादुर सिंह गृहमन्त्री रमेश लेखकको मिडिया सहयोगी बनेका छन्। लेखकले सुदूरपश्चिमका सिंहलाई आफ्नो सचिवालयमा ठाउँ दिएका छन्। स्ट्रिन्जर अच्युत रेग्मी उर्जा जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काको सहयोगी टिममा छन्।
अर्का स्ट्रिन्जर विमल विष्ट खानेपानी मन्त्री प्रदीप यादवको सचिवालयमा काम गर्न थालेका छन्।
राससबाट काम छाडेर मन्त्रीको पिएसरहको काम गर्न जाने क्रम अघिल्ला सरकारदेखि कै निरन्तरता हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा आठौँ तहका हरि लामिछाने गएका थिए।
माओवादीको सत्ता ढलेसँगै उनी रासस नै फर्किएका छन्। कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा लामिछाने प्रेस संयोजकका रुपमा गएका थिए।
दाहालको पालामा फोटो पत्रकार प्रदीपराज वन्त र रत्न श्रेष्ठलाई पालैपालो प्रधानमन्त्रीको सचिवालयमा काम लगाइएको थियो।
संस्थालाई गतिशिल बनाउन लाग्नुपर्ने उच्च तहका कर्मचारीहरु नै शक्तिको अनुचित दबाब प्रभाव देखाएर काम चोर्ने बाटोमा लागेपछि व्यवस्थापनदेखि सहकर्मी नै वाक्वदिक्क भएका छन्।
त्यस्तै, मध्येका एक पत्रकारले ‘पद हेर्यो १०औँ, आठौँ छ। तर मनस्थिति भने कसरी यहाँको काम छलेर अन्यत्र कारिन्दा बन्न जानेभन्दा बढी देखिँदैन। यहाँको वातावरण सम्झ्यो भने वैराग लाग्छ।’
रासस व्यवस्थापनले पत्रकार मुख्य काम नै छाडेर बाहिर गएको विषयमा प्रतिक्रिया दिन चाहेन। ‘ठीकै चलिरहेको छ। अहिले यस्ता विषयमा कुरा नगरौँ,’ उच्च तहका एक अधिकारीले भने।
वरिष्ठदेखि कनिष्ठसम्मका पत्रकार काम छाडेर अन्यत्र हिँड्दा राससको गुणस्तरमा मात्रै होइन संख्यामा पनि कमजोर भएको ती अधिकारीले स्वीकार गरे। पाँच सयभन्दा बढी ग्राहक (मिडिया) भएको सरकारी न्युज एजेन्सी रुपमा रहेको राससले जसरी समाचार दिनुपर्थ्यो त्यसरी गर्न नसकेको गुनासो छ।
राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको सचिवालयमा पुगेकाहरुले पठाएका भाषणले नै रासस समाचार बुलेटिनको ठूलो हिस्सा ओट्ने गरेको छ।
दैनिक रुपमा राससको समाचार प्रयोग गर्नेहरु पनि उसको सेवाप्रति सन्तुष्ट छैनन्। नाम उल्लेख गर्न नचाहेका एक मिडियाको न्युज रुपमा काम गर्ने पत्रकार भन्छन्, ‘रासस आवश्यक छ। तर यसले दिने समाचार आधिकारिकताका लागि हो। तर जुन रुपमा सेवा दिनुपर्थ्यो त्यो छैन। नेताका भाषणबाहेक अरु विषयका समाचार डेढ सय शब्दभन्दा माथिका हुँदैनन्। त्यो पनि अनलाइन मिडियाले लेखेर पुराना भइसकेका हुन्छन्।’