ढाका । बंगलादेशको सेयर बजारमा बुधवार हरियाली देखिएको छ । प्रधानमन्त्री शेख हसिना र उनको सरकारको पतनपछि लगातार दोस्रो दिन पनि बजार उकालो लागेको हो । त्यहाँको बेन्चमार्क शेयर परिसूचक ढाका स्कट एक्सचेञ्ज (डीएसई) बिहान ११ः५० सम्ममा ६५ अङ्कले बढेर ५ हजार ४९१ अंकमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरीको तुलनामा १ दशमलव २ प्रतिशत धेरै हो । ब्लु–चिप इन्डेक्स डीएस ३० पनि ३३ अंकको वृद्धिसहित १ हजार ९६८ अंकमा पुगेको थियो । यो पनि अघिल्लो दिन कारोबार बन्द हुँदाखेरिको भन्दा १ दशमलव ७२ प्रतिशत धेरै हो । सोही समयमा अर्को परिसूचक डीएसईएस ११ अङ्कले बढ्यो । बुधवार अन्य स्थानीय शेयर परिसूचक पनि हरियालीमै थिए ।
