काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको सीआरजे ७०० ९एन-एएमई जहाज ‘कम्प्लिट चेक’ (सी–चेक) का लागि पोखरा जाँदै थियो । बोलीचालीको भाषामा पूर्ण परीक्षण तथा मर्मत भनिने यस प्रकारको परीक्षणपूर्व भएको यो दुर्घटनापछि आम जनमानसमा जहाज उडानयोग्य थियो कि थिएन भन्ने जिज्ञासा उठेको छ यसै जिज्ञासाबारे हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिकलाई सोधेका छौं । उनका अनुसार हरेक वायुयान निर्माता कम्पनीले आफ्ना वायुयान कुन मुलुकमा कुन अवस्थामा उडिरहेका छन्, त्यसको दुरुस्त विवरण राखी नियमित फलोअप समेत गरिरहेका हुन्छन् वायुयानलाई दुरुस्त राख्न तोकिएको समयमा तोकिएको परीक्षण नियमित हुने गरे–नगरेको बारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले हरेक मुलुकका नियामक निकायलाई सचेत गराइरहेका हुन्छ । नियामक निकायले यसको पनि विवरण राखी त्यस्तो परीक्षण सुनिश्चित गरिरहेको हुन्छ । सोहीकारण जहाज बरू ‘ग्राउन्डेड’ गराइन्छ, तर मर्मत र परीक्षण विना उडाउन पाइँदैन ।सामान्यतया हरेक ५ हजार घण्टा उडानपछि वा एकदेखि डेढ वर्ष अवधिमा सी-चेक गरिन्छ । यो आम मानिसले बुझ्ने भाषामा भन्दा स्वस्थ मानिसले पनि निश्चित समयमा गर्ने ‘होल बडी चेकअप’ जस्तै हो । जहाज परीक्षणका विभिन्न चरणलाई ए, बी र सी भन्दै वर्गीकरण गरिएको हुन्छ । सोही वर्गीकरण अनुसार सी चरणको चेकअप नै सी-चेक हो । सी-चेक पूर्ण परीक्षण र मर्मत हो । जहाँ जहाजको बाहिरी भाग, इन्धन, तरल पदार्थहरूको स्तर, टायर, ब्रेक, जहाजका विभिन्न आन्तरिक प्रणाली, उडान नियन्त्रण, इन्जिन, ल्यान्डिङ गियर, जहाजको संरचनात्मक उपकरण र विद्युतीय प्रणाली समेतको परीक्षण र बिग्रिएको पाइएमा मर्मत गरिन्छ । सामान्यतया यस्तो परीक्षणका लागि एकदेखि चार सातासम्म लाग्छ ।यतिसम्म कि जहाजमा नटबोल्टहरू खुकुलो भए नभएको सम्मको परीक्षण यस दौरान गरिन्छ । त्यसकारण जहाज सी-चेकमा जानुको मतलब जहाजमा अगाडि नै खराबी थियो भन्ने अर्थ भने लाग्दैन । अर्थात्, यो नियमित परीक्षणमा थियो भन्नुपर्ने उनी बताउँछन् ‘दुर्घटनाका कारण छानबिन आयोगको प्रतिवेदनबाटै खुल्छ, त्यो अगाडि कुनै पनि जहाज दुर्घटनाका कारणबारे आकलन गर्न मुस्किल पर्छ,’ उनी भन्छन् ।सौर्यले यो जहाजलाई काठमाडौंकै ह्यांगरमा राखेर पनि मर्मत गर्न सक्थ्यो । तर, काठमाडौंमा एउटै जहाज लामो समय ह्यांगरमा राखेर मर्मत गर्दा आकस्मिक मर्मत गर्नुपर्ने अन्य जहाजहरूको काम प्रभावित हुन्छ । सोही कारण सी-चेकका लागि जहाजहरू अन्य विमानस्थलका ह्यांगरमा पठाउने गरिन्छ । सी-चेकपछि पनि हरेक ६ देखि १० वर्षको बीचमा जहाजको विस्तृत सुदृढीकरण परीक्षण हुन्छ । जसमा कतिपय उपकरणको आयु नै सकिने अवस्थामा त्यसलाई विस्थापित गर्नेसम्मका हुन्छन् ।नेपालबाट जहाज सी-चेकका लागि सिंगापुर, इजरायल लगायत देशमा पनि लैजाने गरिन्छ ।

जहाजको चेक श्रृङ्खला
ए–चेक : नियमित निरीक्षण (हरेक ४ सयदेखि ६ सय घण्टा उडान वा २ सयदेखि ३ सय उडान साइकल पछि)
बी–चेक : विस्तृत परीक्षण (हरेक ६ देखि ८ महिनामा गरिने विस्तृत परीक्षण)
सी–चेक : पूर्ण परीक्षण (एकदेखि डेढ वर्ष वा ५ हजार घण्टाभन्दा माथि उडिसकेपछि गरिने परीक्षण)