पोखरा: मर्मतका लागि पोखरा आउँदै गर्दा सौर्य एयरलाइन्सको ९एन-एएमई कलसाइनको जहाज दुर्घटनामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखराको ह्यांगरमा राखेर मर्मतका लागि उक्त विमान कम्पनीले अनुमति लिएको थियो ।
‘पोखराको ह्यांगरमा राखेर मर्मत गर्नका लागि उक्त जहाजले अनुमति लिएको थियो,’ प्रवक्ता सुवेदीले कान्तिपुरसँग भनिन् ।
काठमाडौं टेकअफ गर्नेबित्तिकै सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै दुर्घटनामा परेको हो । विमानमा सबै सौर्य एयरलाइन्सको चालक दलका सदस्य र कर्मचारी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सौर्य एयरलाइन्सले काठमाडौंबाट पोखरा भने नियमित उडान गर्दैन ।
विमान चालक मनिषरत्न शाक्यलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।